देश

निर्वाचन केन्द्रित अभियान तीव्र, डा. शेखर कोइरालाले बुढीगंगामा छ कार्यालय उद्घाटन

विराटनगर । मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका छ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् । कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का कार्यालय उनले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै डा. कोइरालाले पछिल्ला वर्षहरूमा बुढीगंगा गाउँपालिकामा विकास निर्माणका काम उल्लेख्य रूपमा अघि बढेको दाबी गरे । पिउने पानी, सडक र स्वास्थ्य संस्थाजस्ता पूर्वाधारमा सुधार आएको उनको भनाइ थियो । ‘अघिल्ला वर्षको तुलनामा बुढीगंगाको अवस्था फेरिएको छ,’ उनले भने ।

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा कांग्रेसका उम्मेदवारहरू चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातामाझ पुगिरहेका छन् । सो अवसरमा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मिणी कोइरालाले संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई जिताउन आग्रह गरिन् ।

कांग्रेसकी समानुपातिक सांसद उम्मेदवार प्रमिला गच्छदारले जनआन्दोलनपछिको अवस्थामा देखिएका नकारात्मक प्रवृत्तिप्रति सचेत रहनुपर्ने बताइन् । मुलुक निर्माणको जिम्मेवारी कांग्रेसकै काँधमा रहेको उल्लेख गर्दै उनले पार्टीलाई विजयी गराउन आग्रह गरिन् ।

डा. कोइराला चुनावी सभासँगै विभिन्न पेसा–व्यवसायमा आबद्ध नागरिकहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन् । कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसद्को सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान सुरक्षित रहने उनको भनाइ छ ।

नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाका उपसभापति किरण चौधरीका अनुसार उम्मेदवार कोइरालाले चुनावी कार्यक्रमलाई थप व्यापक र प्रभावकारी बनाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *