वीरगंज । वीरगंज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन्।
सोमबार आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रुपमा गोदाममा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले ७ लाखभन्दा बढी मूल्यको कपडा बरामद गरेको छ।
कपडा बरामद भएपछि तस्कर समूहले ढुंगामुढा प्रहार गर्दै सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो। यस क्रममा सशस्त्र प्रहरी बलको एउटा वानटन र स्कार्पियो गाडीमा क्षति पुगेको साथै तीन जना प्रहरी घाइते भएका छन्।
बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ। यो घटनाबारे सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।




