काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुई दिन हिरासतमा बसेपछि रिहा भएका छन्। शुक्रबार चाल्नाखेलबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि अदालतले हाजिर जमानीमा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
साइबर ब्यूरोका अनुसार अदालतको आदेशअनुसार प्रसाईंलाई हिरासतमुक्त गरिएको हो। साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले अदालतले अनुसन्धान जारी राख्न पाउने गरी हाजिर जमानीमा रिहा गर्न निर्देशन दिएको जानकारी दिएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं दुई दिन प्रहरी हिरासतमा बसेका थिए।
प्रहरीले प्रसाईंमाथि विद्युत्तिय माध्यम प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा अनुसन्धान थालेको जनाएको छ। निर्वाचनसम्बन्धी उनका सार्वजनिक अभिव्यक्तिलाई अनुसन्धानको मुख्य आधार बनाइएको साइबर ब्यूरोको भनाइ छ।
पक्राउअघि प्रसाईंले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको तथ्य पनि सार्वजनिक भएको छ। सुरक्षा स्रोतका अनुसार माघ २२ गते भक्तपुरमा ओली र प्रसाईंबीच भेटवार्ता भएको थियो। त्यसपछि प्रसाईं बीरगञ्जमा आयोजना तय गरिएको कार्यक्रममा सहभागी हुन पर्सातर्फ जाँदै थिए।
सुरक्षा निकायले बीरगञ्जको कार्यक्रममार्फत फागुन २१ मा हुने निर्वाचन प्रभावित पार्ने अभियान सुरु हुन सक्ने आशंकाको सूचना पाएपछि सरकारलाई ब्रिफिङ गरिएको स्रोतको दाबी छ। त्यसकै आधारमा प्रसाईंलाई नियन्त्रणमा लिने निर्णय गरिएको बताइएको छ।
उक्त घटनाले निर्वाचनको संवेदनशील समयमा अभिव्यक्ति स्वतन्त्रता, सुरक्षा सतर्कता र राजनीतिक गतिविधिबीचको सन्तुलनबारे पुनः बहस चर्काएको छ। अदालतको आदेशसँगै प्रसाईं रिहा भए पनि उनीमाथिको अनुसन्धान भने जारी रहने साइबर ब्यूरोले स्पष्ट पारेको छ।




