देश

पूर्वप्रधानमन्त्री देउवा चुनावी मैदानमा उपस्थित नहुने सचिवालयको प्रस्टोक्ति

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी गतिविधिबाट टाढै रहने भएका छन्। पछिल्ला दिनमा देउवा चुनावी अभियानमा सक्रिय हुने चर्चा चले पनि उनको सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको छ।

देउवाको सचिवालयका अनुसार उनी कुनै पनि चुनावी सभा, आमसभा वा चुनावसँग सम्बन्धित सार्वजनिक कार्यक्रममा सहभागी हुने छैनन्। केही सञ्चारमाध्यममा देउवा चुनावी प्रचारमा निस्कने समाचार आएपछि त्यसको खण्डन गर्दै सचिवालयले “चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन” भन्ने स्पष्ट सन्देश दिएको हो।

कांग्रेसको नेतृत्व विशेष महाधिवेशनमार्फत परिवर्तन भएपछि देउवा पार्टीको औपचारिक गतिविधिबाट लगभग अलग देखिएका छन्। पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि उनी न त सार्वजनिक कार्यक्रममा देखिएका छन्, न त पार्टीका आन्तरिक निर्णय प्रक्रियामा नै सक्रिय भूमिका खेलेका छन्।

राजनीतिक वृत्तमा यसलाई नेतृत्व हस्तान्तरणपछि देउवाले स्वेच्छिक ‘राजनीतिक विश्राम’ रोजेको रूपमा विश्लेषण गरिएको छ। लामो समयसम्म पार्टी र सरकारको नेतृत्व सम्हालेका देउवाको यो मौनताले कांग्रेसको चुनावी रणनीतिमा प्रत्यक्ष प्रभाव नपारे पनि उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। देउवाको सचिवालयको पछिल्लो प्रष्टोक्तिले अबको चुनावी अभियानमा उनी देखिने सम्भावनालाई पूर्णतः अस्वीकार गरेको संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *