काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको रोमाञ्चक यात्रामा होमिएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई देशभित्रबाट शुभेच्छाको ओइरो लाग्ने क्रम जारी छ। यही क्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पनि नेपाली टोलीलाई सफलताको कामना गरेका छन्।
आइतबार सार्वजनिक सन्देशमार्फत देउवाले विश्वकपजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेको टोलीप्रति गर्व व्यक्त गर्दै खेलाडीहरूलाई आत्मविश्वासका साथ मैदानमा उत्रिन आग्रह गरेका छन्। उनका अनुसार नेपाली क्रिकेट टिमले पछिल्ला वर्षहरूमा देखाएको संघर्ष, अनुशासन र जुझारुपन नै आज विश्वकपसम्मको यात्राको आधार हो।
भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा भइरहेको खेल नेपाली क्रिकेटका लागि मात्र नभई देशकै खेलकुद इतिहासमा स्मरणीय अवसर भएको देउवाको भनाइ छ। उनले सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई शुभेच्छा दिँदै मैदानमा खेल्दा राष्ट्रको गौरव बोकेको अनुभूति गर्न आग्रह गरेका छन्।
विश्वकप प्रतियोगिताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै देउवाले खेलमार्फत नेपालले विश्वसामु आफ्नो क्षमता र सम्भावना देखाउने अवसर पाएको उल्लेख गरेका छन्। उनले अन्त्यमा सम्पूर्ण नेपालीलाई टिमको हौसला बढाउन एकताबद्ध हुन आह्वान गर्दै नेपाली क्रिकेट टिमको सफलताको कामना दोहोर्याएका छन्।




