देश

युवा साथले उत्साहित पोखरेल, विकासकाे गति तीव्र पार्ने प्रतिबद्धता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले अवरुद्ध विकास निर्माणका कामहरू पूरा गरेरै छोड्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् ।

चुनावी घरदैलो अभियानका क्रममा स्थानीयवासीको साथ र समर्थन पाएको उल्लेख गर्दै उम्मेदवार पोखरेलले यसपटकको जित देशकै जित हुने बताउँदै ‘हलो’ चिह्नमा मतदान गर्न अपिल गरिन् ।

उनले स्थानीय युवा क्लबमार्फत विकास निर्माणका कामलाई तीव्रता दिने बताइन् । घरदैलोका क्रममा युवा क्लबका सदस्यहरूसँगको भेटमा विगतमा अदृश्य रूपमा सहयोग गरिरहेका युवाहरू अहिले प्रत्यक्ष रूपमा साथ दिन आएको देख्दा आफू भावुक भएको उनले सुनाइन् ।

आफ्नो क्षेत्रमा विकास निर्माणका काममा अवरोध भएकोप्रति आक्रोश व्यक्त गर्दै पोखरेलले क्लब निर्माणका लागि सामग्रीसमेत झारिसक्दा पनि काम रोकिएको गुनासो गरिन् । उनले जित वा हारभन्दा माथि उठेर जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाइन् ।

राप्रपाको चुनाव चिह्न ‘हलो’ को धार्मिक तथा सांस्कृतिक महत्व उल्लेख गर्दै उनले माता सीताको उत्पत्तिसँग जोडिएको प्रसंग स्मरण गरिन् । काठमाडौं–२ बाट हलो चिन्हको जित सुनिश्चित हुने उनको दाबी थियो । उनले यसपटकको जितलाई व्यक्तिगत नभई देश र व्यवस्था परिवर्तनको जितका रूपमा व्याख्या गरिन् ।

नेतृ पोखरेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा चित्रण गर्दै देश निर्माणका लागि राप्रपालाई जिताउनुपर्नेमा जोड दिइन् । विगत तीन वर्षमा चुनाव हारे पनि जनतासामु गरेका वाचा पूरा गरेको उल्लेख गर्दै उनले आफू सधैँ जनताकै बीचमा रहने बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *