देश

खोकनामा अझै पेलिन्छ तेल : तीन सय वर्षे काठको कोलले जोगायो परम्परा

ललितपुर। ललितपुरको ऐतिहासिक बस्ती खोकना आज पनि शुद्ध तोरीको तेलका लागि प्रसिद्ध छ । खोकना भन्नेबित्तिकै धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष पुरानो काठको तेल मिल (कोल) अझै सञ्चालनमा रहेकाले खोकनाको मौलिक पहिचान जोगिएको स्थानीयवासी बताउँछन् ।

ललितपुर महानगरपालिका–२१ स्थित खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि सक्रिय छ । तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आउनुभएको छ । उहाँका अनुसार कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशका साथै विदेशसम्म निर्यात हुँदै आएको छ ।

मल्लकालीन समयमा खोकनामा चारवटा काठका ऐतिहासिक तेल मिल सञ्चालनमा थिए । समयक्रममा तीमध्ये तीन बन्द भए पनि एउटा मिलले परम्परालाई जीवित राखेको छ । बन्द भएका अन्य तीन मिल पुनः सञ्चालनमा ल्याउने उद्देश्यले ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढाइएको छ ।

शुद्ध तोरीको तेल र ऐतिहासिक कोल अवलोकन गर्न खोकनामा विदेशी पर्यटकसमेत पुग्ने गरेका छन् । बस्ती प्रवेश गर्नेबित्तिकै आधुनिक प्रविधिबाट सञ्चालित तेल मिल र व्यवसायिक साइनबोर्ड देख्न सकिन्छ, जसले परम्परा र आधुनिकताको सहअस्तित्व झल्काउँछ ।

खानोमी तेल मिलका सञ्चालक पवित्रकुमार डङ्गोलका अनुसार खोकनामा हाल १० देखि १५ वटा तेल मिल सञ्चालनमा छन् । पहिले सामुदायिक रूपमा काठको कोल प्रयोग गरिन्थ्यो तर लागत बढी र जनशक्ति धेरै आवश्यक पर्ने भएकाले अधिकांश व्यवसायी आधुनिक मिलतर्फ आकर्षित भएका छन् ।

विगतमा खोकनावासी आफैँ तोरी खेती गर्थे । तेल र तोरी साट्न भक्तपुर, काठमाडौँ, मकवानपुर र नुवाकोटसम्म पुग्ने चलन थियो । अहिले भने स्थानीय उत्पादन घटेकाले बजार माग धान्न भारत, युक्रेनलगायत देशबाट तोरी आयात गरेर तेल उत्पादन गरिँदै आएको डङ्गोलले जानकारी दिए ।

ऐतिहासिक रूपमा तोरी उत्पादन र शुद्ध तेलका लागि चिनिएको खोकना आज पनि यही पहिचानका कारण बजारमा लोकप्रिय छ । आधुनिक प्रविधिसँगै पुरानो काठको कोलको निरन्तरताले खोकनाको तेल परम्परा जोगाइरहेको विश्वास स्थानीयवासीको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *