झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनपछि झापा ‘सूर्यमय’ हुने बताएका छन् । चुनावी अभियानका सिलसिलामा शुक्रबार गृहजिल्ला पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
पत्रकारले ‘तपाईँसँग प्रतिस्पर्धा गर्न युवा पुस्ता आएका छन्’ भन्ने प्रश्न राख्दा अध्यक्ष ओलीले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले भने, “प्रतिस्पर्धा गर्न आउँछु भन्नेलाई म स्वागत गर्छु, त्यसमा खुसी लाग्छ । हाम्रा भाइ, भतिजा, छोरा–नातिको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुनै कारण छैन ।”
अध्यक्ष ओलीले झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको दाबी गर्दै युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे ।
झापा–५ मा एमालेबाट अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साह र नेकपाका रञ्जित तामाङबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।




