काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समय योजनाबद्ध रूपमा फैलाइँदै आएको ‘सबै राजनीतिक दल र उम्मेदवार एउटै हुन्’ भन्ने भाष्यलाई गम्भीर राजनीतिक भ्रमको संज्ञा दिएका छन् । उनले यस्तो धारणा लोकतान्त्रिक बहसलाई कमजोर बनाउने र सचेत मतदातालाई भ्रमित गर्ने उद्देश्यले सिर्जना गरिएको बताए । शुक्रबार काठमाडौँमा आयोजित चुनाव प्रचार–प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले पार्टीका कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत दैनिक रूपमा यो भाष्यको प्रतिवाद गर्न निर्देशन दिए । सबै दललाई एउटै तराजुमा राखेर हेर्नु न त न्यायसंगत हुने उनको तर्क थियो, न त यथार्थपरक ।
नेता सापकोटाले नयाँ राजनीतिक शक्तितर्फ लक्षित गर्दै कडा टिप्पणी गरे । उनका अनुसार, राजनीति सेवा र सिद्धान्तका लागि हुनुपर्ने हो, धन–दौलत र पद–प्रतिष्ठाको आशक्तिका लागि होइन । “मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको लोभमा राजनीति गर्नेहरू र हामी एउटै होइनौँ,” उनले स्पष्ट शब्दमा भन] । उनले केही नयाँ उम्मेदवारहरूलाई राज्य सञ्चालनको आधारभूत जानकारीसमेत नरहेको टिप्पणी गर्दै, कुन सरकारी कार्यालय कहाँ पर्छ भन्ने सामान्य ज्ञान नहुनेले मुलुक चलाउने कुरा हास्यास्पद हुने धारणा राखे ।
‘सबै उस्तै’ भन्ने भाष्य खतरनाक
सापकोटाका अनुसार अहिले सामाजिक सञ्जाल र सार्वजनिक बहसमा ‘सबै पार्टी उस्तै हुन्’ भन्ने कथनलाई जबर्जस्ती स्थापित गर्न खोजिँदैछ । “यो ठीक त्यस्तै हो, जस्तो हात्तीछाप चप्पल र हात्ती एउटै हो भनेर विज्ञापनमा भनिएझैँ,” उनले व्यंग्य गर्दै भने, “हात्तीछाप चप्पल र हात्ती कहिल्यै उस्तै हुँदैनन् ।”उनले कार्यकर्तालाई यो विषय जनतासमक्ष स्पष्ट र प्रभावकारी ढंगले राख्न आग्रह गर्दै, ठूलो स्वरले सुनिने गरी सत्य बोल्नुपर्ने बेला आएको बताए ।
नेता सापकोटाले आफ्नो पार्टी विगतमा भएका कमजोरी स्वीकार्न तयार रहेको दाबी गरे । अन्य दलभन्दा फरक पहिचान देखाउँदै उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै आत्मालोचना र सुधारको बाटो समात्ने पार्टी आफूहरू नै भएको बताए । “हामी जनतासँग गएर गल्ती स्वीकार्छौँ, आत्मालोचना गर्छौँ र रुपान्तरणका लागि तयार हुन्छौँ,” उनले भने । कार्यक्रमको अन्त्यमा सापकोटाले पार्टी कार्यकर्तालाई हरेक दिन कम्तीमा एउटा पोस्ट लेखेर ‘सबै उस्तै’ भन्ने भाष्यको गम्भीर र तथ्यगत खण्डन गर्न आह्वान गरे । लोकतन्त्रमा सही सूचना र वैचारिक स्पष्टता नै सबैभन्दा बलियो हतियार भएको उनको निष्कर्ष थियो ।




