विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आह्वान गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै उनले देशको समग्र विकासका लागि वडादेखि संघसम्म कांग्रेसकै सरकार आवश्यक रहेको बताएका हुन्।
उनले क्षेत्रको विकासक्रमबारे उल्लेख गर्दै केही वर्षयता क्रमशः पूर्वाधार निर्माण र विकासका काम अघि बढिरहेको बताए। ‘यो क्षेत्रलाई अहिले नै सहरका रूपमा परिभाषित गर्न कठिन होला, तर पछिल्ला ५–७ वर्षमा भएका परिवर्तन तपाईँहरूले देख्नुभएको छ,’ उनले भने, ‘सबैको घरअगाडि पिच सडक पुगेको नहुन सक्छ, तर हामी तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छौँ—यदि ५ वर्ष सरकार चलाउने अवसर पायौँ भने विकासलाई तीव्र गति दिन सक्छौँ।’
डा. कोइरालाले प्रभावकारी कामका लागि सबै तहमा एउटै पार्टीको सरकार हुनुपर्ने धारणा राखे। यसले योजना कार्यान्वयन र स्रोत व्यवस्थापनमा सहजता ल्याउने उनको भनाइ थियो।
मतदातासँग भावनात्मक अपिल गर्दै उनले भने, ‘शेखर कोइराला आएन भनेर तपाईँहरू भनिरहनुहुन्छ, तर म यहाँ उपस्थित सबैलाई शेखर कोइराला नै देखिरहेको छु। तपाईँहरू नै मेरा प्रतिनिधि हो। अब टोल–टोल र घर–घर पुगेर कांग्रेसको सन्देश फैलाउनुहोस्, त्यसपछि अरू पार्टीहरूले नेपाली कांग्रेसको शक्ति बुझ्नेछन्।’




