राजनीति

समृद्ध नेपालका लागि ऊर्जा उत्पादन बढाउनुपर्छः अध्यक्ष घिसिङ

राजविराज (सप्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल निर्माणका लागि ऊर्जा क्षेत्रको उत्पादन वृद्धि अपरिहार्य रहेको बताएका छन् ।

आज राजविराजमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भरता र कृषि क्षेत्रको विकास आवश्यक रहेको उल्लेख गरे । ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको उनको भनाइ थियो ।

अध्यक्ष घिसिङले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने बताउँदै आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरी विद्युत्बाट आम्दानी गर्न सकिने धारणा राखे । “देश आत्मनिर्भर बन्ने र नेपाली जनताले निःशुल्क रूपमा विद्युत् उपयोग गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ । कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन,” उनले भने ।

जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *