देश

आचारसंहिता उल्लंघन गर्ने २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेस

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन आयोगले सक्रियता बढाएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फस्र्यौट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको छ । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारसँग स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जनाएको छ ।

प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय गर्ने प्रवक्ता भट्टराईले बताए ।

आयोगका अनुसार ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमार्फत कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये महिला उम्मेदवार १ हजार ७७२ र पुरुष १ हजार ३६३ रहेका छन् । समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको आयोगको तथ्यांकले देखाएको छ ।

निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आयोग सधैँ प्रतिबद्ध रहेको जनाउँदै प्रवक्ता भट्टराईले आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षसँग आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *