देश

विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी बनाइनुपर्ने धारणा राखिन्न ।

सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बिमाको रकम नपाएको भन्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै बजेट अभावका कारण कार्यक्रम नै रोकिएको भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । साथै भारतमा निपाह भाइरसको सङ्क्रमण फैलिँदै गएको सन्दर्भमा खुला सीमाका कारण त्यस्तो सङ्क्रमण नेपाल भित्रिन सक्ने जोखिम रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा र सजगता अपनाउन उनले जोड दिइन् ।

सांसद डा बेदुराम भुषालले चालु वर्ष सदनमा पेस गर्ने भनिएका विधेयकको मस्यौदा तयार भए–नभएको विषयमा सरकारसँग जानकारी माग गरे । उनका अनुसार यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक पेश गर्ने भनिएको थियो । तीमध्ये कति विधेयकको मस्यौदा तयार भइसकेको छ भन्ने विषयमा सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे ।

सांसद मायाप्रसाद शर्माले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जलेर क्षति भएको नयाँ बानेश्वरस्थित संसद भवनको पुनर्निर्माणको अवस्थाबारे प्रश्न उठाइन् । आवश्यक सुरक्षा व्यवस्था अपनाएर पुनर्निर्माण गर्ने भनिए पनि हालसम्मको प्रगति के छ भन्नेबारे स्पष्टता माग गरे । साथै सिंहदरबारस्थित नयाँ संसद भवन निर्माणको काम कहाँसम्म पुगेको छ भन्ने विषयमा पनि उनले सरकारसँग जवाफ मागीन् ।

सांसद सुमित्रा बिसीले तोकिएको समयमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले निर्वाचन दुई चरणमा गर्ने र निर्वाचन मिति सार्ने अभ्यास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने धारणा व्यक्त गररीन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *