देश

प्रतिशोध होइन, देश सम्हाल्ने राजनीति गर्छौंः सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसलाई राष्ट्रको नेतृत्वदायी शक्ति भएको बताएका छन् ।

पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको इतिहासले नै उसलाई राष्ट्रिय शक्तिको जिम्मेवारी दिएको उल्लेख गरे । देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्दै परिस्थितिलाई सम्हाल्ने काम गर्दै आएको उनको भनाइ थियो । उनले राष्ट्रिय दलको हैसियत निर्वाचनले निर्धारण गर्ने भए पनि राष्ट्रिय शक्तिको हैसियत इतिहासले तय गर्ने धारणा राखे ।

उनले अहिले राज्यका संस्थाहरूप्रति चरम अविश्वास बढ्दै गएको बताउँदै त्यसले समग्र देशमै अविश्वासको वातावरण सिर्जना गरेको उल्लेख गरे । “यो अविश्वासलाई नियन्त्रण गरी देशलाई सम्हाल्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ,” उनले भने ।

सभापति थापाले भदौ २४ गते देश अशान्त बनेको स्मरण गर्दै अर्को वर्षको सोही मितिसम्म देश नबल्ने वातावरण बनाउने जिम्मा कांग्रेसले लिने दाबी गरे । कांग्रेसले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्दै उनले पार्टीको चरित्र मिलाउने र देशलाई सम्हाल्ने भूमिका निर्वाह गर्ने बताए । “आगो लगाउन जोसुकैले सक्छ, तर आगो निभाउन धैर्यता चाहिन्छ,” उनले भने ।

नागरिकले अहिले देश सम्हाल्ने र सुधार गर्ने नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेसले सम्हाल्ने र सुधार्ने दुवै जिम्मेवारी पूरा गर्न सक्ने विश्वास व्यक्त गरे ।

व्यक्तिगत ‘जादुको छडी’ बाट परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उनले संस्थाहरू बलियो बनाउने, प्रणाली सुदृढ गर्ने र सरकारको सेवा प्रवाह प्रभावकारी बनाउने एजेन्डा लिएर घरघरमा जान कार्यकर्तालाई निर्देशन दिए ।

सभापति थापाले निर्वाचन सम्पन्न भएपछि देशभरका कार्यकर्तासँग छलफल गरी पार्टीको नियमित अधिवेशन आयोजना गरिने जानकारी दिँदै कसैलाई काखा-पाखा नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *