काठमाडौं । सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन्। विद्यालय भवन निर्माणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले चौधरीलाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो। डाक्नेश्वरी नगरपालिका–५ मा रहेको श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा मिलेमतो गरी भ्रष्टाचार गरिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको छ। सोही क्रममा चौधरीसहित नौ जनालाई बयानका लागि इटहरीस्थित अख्तियार कार्यालयमा उपस्थित गराउन नगरपालिकालाई पत्राचार गरिएको छ।
अख्तियारले माघ २० गते नगरपालिकालाई पत्र पठाउँदै माघ २३ गते सम्बन्धित सबैलाई उपस्थित गराइदिन अनुरोध गरेको खुलेको छ। चौधरी उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। आयोगको पत्रमा भवन निर्माण प्रक्रियामा आर्थिक अनियमितता भएको आशंकामा उनीसहित अन्य आठ जनाको बयान आवश्यक रहेको उल्लेख गरिएको छ।डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहका अनुसार यो पहिलो पटक अख्तियारले पत्र काटेको भने होइन। यसअघि नै चार पटकसम्म बयानका लागि बोलाइएको भए पनि सम्बन्धित व्यक्तिहरू उपस्थित नभएको उनको भनाइ छ। पटक–पटक आग्रह गर्दा पनि अटेर हुँदै आएको उनले जिकिर गरे।
नगर प्रमुख मलाहका अनुसार विद्यालयका लागि चौधरीका बुवाले दान दिएको जग्गामा संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत भवन निर्माण, पुस्तक वितरण, प्रयोगशाला र कम्प्युटर ल्याबका लागि एक करोड रुपैयाँभन्दा बढी बजेट आएको थियो। त्यसमध्ये करिब ४९ लाख रुपैयाँ अनियमितता भएको उजुरी अख्तियारमा परेको छ। त्यसैगरी, विद्यालयको नाममा दान दिइएको एक विघा १७ कट्ठा जग्गामध्ये १४–१५ कट्ठा मात्र विद्यालयको नाममा दर्ता गरी बाँकी जग्गा व्यक्तिगत स्वामित्वमै राखिएको आरोपसमेत उजुरीमा समावेश छ। सोही जग्गामा फुटबल मैदान निर्माणका नाममा करिब ९० लाख रुपैयाँ बराबरको अनियमितता भएको आशंका गरिएको नगर प्रमुख मलाहले बताए।
अख्तियारले पटक–पटक पत्र पठाउँदा पनि सम्बन्धित व्यक्ति सम्पर्कमा नआएपछि यसपटक प्रशासनको सहयोगमा पालिकाका कर्मचारीमार्फत बयानका लागि बुझाउने तयारी गरिएको जनाइएको छ। बयानका लागि बोलाइएकामध्ये अमरकान्त चौधरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् भने सदस्यहरूमा सतेन्द्र मण्डल, रुन्जी देवी सादा, कवितासिंह, श्यामाला देवी मण्डल, दुखरण मण्डल र रामसागर मण्डल रहेका छन्। साथै, तत्कालीन प्रधानाध्यापक योगेन्द्र प्रसाद मेहता र सहायक प्रधानाध्यापक सुभाष कुमार साह पनि बयानका लागि बोलाइएका छन्। स्थानीयवासीले भने अख्तियारको ढिलासुस्तीका कारण मुद्दा लामो समयदेखि टुंगोमा नपुगेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।





