देश

मुखमा जाल अड्किएको घडियालको उद्धार

नवलपुर (नवलपरासी)। अति सङ्कटापन्न वन्यजन्तुको सूचीमा सूचीकृत घडियाल (गोही) नारायणी नदीबाट उद्धार गरिएको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीस्थित अमलटारीघाट नजिक नारायणी नदीमा मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा फेला परेको घडियाललाई स्थानीय बोटे समुदायको सक्रियतामा उद्धार गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरका अनुसार लगातार चार दिनको प्रयासपछि बुधबार दिउँसो घडियालको मुखबाट जाल हटाउन सफल भएको हो।

“स्थानीय गोपाल बोटेको सक्रियता तथा निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दाको सहयोगमा चार दिनपछि भाले घडियालको उद्धार गर्न सफल भयौँ,” उनले भने, “मुखमा बेरिएको जाल काटेर गोहीलाई पुनः नदीमै छाडिएको छ।”

माछा मार्ने क्रममा नदीमा छोडिएको जाल घडियालको मुखमा बेरिएको हुनसक्ने उनले बताए। उद्धार गरिएको घडियाल वयस्क भाले रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको निकुञ्जले जनाएको छ।

यससँगै चालु वर्षमा नारायणी नदीबाट चार वटा घडियाल उद्धार गरिएको सूचना अधिकारी थापा मगरले जानकारी दिए। अघिल्लो महिना गरिएको गणनाअनुसार नारायणीमा दुई र राप्ती नदीमा सात गरी यस क्षेत्रमा नौ वटा भाले घडियाल फेला परेका छन्।

त्यसैगरी नारायणीमा १३५ र राप्तीमा २३१ गरी निकुञ्ज क्षेत्रमा ३६६ वयस्क घडियालको गणना गरिएको छ। प्राकृतिक वातावरणमा घडियालको सङ्ख्या वृद्धि गर्न प्रजनन केन्द्रमा हुर्काइएका बच्चा नदीमा छाड्ने कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ।

अति सङ्कटापन्न घडियाललगायत वन्यजन्तु संरक्षणका लागि निकुञ्जले स्थानीय समुदायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। समुदायको सहभागिताले संरक्षणमा सकारात्मक परिणाम दिनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा टेवा पुगेको निकुञ्जको भनाइ छ।

विश्व सिमसार दिवसको अवसर पारेर सोमबार मात्र स्थानीय बोटे समुदायको सहभागितामा राप्ती नदीमा घडियाल गोही छाडिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *