देश

सिन्धुपाल्चोक क्षेत्र–२ मा चुनावी सरगर्मी बढ्दो, १८ उम्मेदवार मैदानमा

चौतारा। सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा प्रमुख तीन राजनीतिक दलका उम्मेदवारसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। सिन्धुपाल्चोक क्षेत्र–२ मा नेकपा (एमाले) बाट शेरबहादुर तामाङ, नेपाली कांग्रेसबाट वंशलाल तामाङ र नेपाली कम्युनिष्ट पार्टीबाट युवराज दुलाल प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलकबहादुर श्रेष्ठसहित अन्य दल तथा स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा सक्रिय छन्। यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेतले ३९ हजार ३८१ मत प्राप्त गरी विजय हासिल गरेका थिए।

उक्त निर्वाचनमा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शेरबहादुर तामाङले २७ हजार ५१५ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले २ हजार ८२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले २ हजार ४५३ मत प्राप्त गरेका थिए।

यसपटक एमाले र कांग्रेस दुवै पार्टी आफ्नो राजनीतिक प्रतिष्ठा जोगाउने प्रयासमा छन्। दुई पटक प्रदेशसभा सदस्यमा गठबन्धनबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल भने राष्ट्रिय राजनीतिमा स्थापित हुने लक्ष्यसहित चुनावी अभियानमा सक्रिय देखिएका छन्।

यद्यपि अघिल्लो स्थानीय तह निर्वाचनको नतिजा हेर्दा नेकपाको मताधार तुलनात्मक रूपमा कमजोर देखिन्छ। तर विकास निर्माणमा निरन्तर खटिएको र जनसमर्थन प्राप्त भएकाले यस निर्वाचनमा सफलता हासिल हुने दुलालको दाबी छ।

मनोनयन दर्तालगत्तै चुनावी अभियानमा जुटेका नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङले पार्टीको सुदृढ संगठन, भूगोलमा गहिरो पहुँच र आफ्नो अनुभवका कारण निर्वाचन सहज हुने विश्वास व्यक्त गरेका छन्। संविधानसभाको दोस्रो कार्यकाल तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वाचित भई संसदमा प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले विपद्ग्रस्त मेलम्ची क्षेत्रको विकास, मेलम्ची खानेपानी व्यवस्थापनलगायतका मुद्दालाई प्राथमिकतामा राखेका छन्।

स्थानीय तह निर्वाचनको नतिजालाई आधार मान्दा नेपाली कांग्रेस यस क्षेत्रको बलियो शक्ति मानिन्छ। कांग्रेस उम्मेदवार वंशलाल तामाङले स्थानीय तहमा पार्टीको मजबुत उपस्थिति आफ्नो जितको मुख्य आधार भएको बताएका छन्। यसअघि इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित तामाङले आर्थिक समृद्धि र स्थानीय विकासलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्।

चुनाव नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा उम्मेदवारबीचको प्रतिस्पर्धा थप तीव्र र चासोपूर्ण बन्दै जाने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *