देश

राष्ट्रपति पौडेल चारदिने जापान भ्रमण पूरा गरी स्वदेश फर्किए

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार जापान प्रस्थान गरेका थिए।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले स्वागत गरेका छन्।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भई सम्बोधन गरेका थिए।

त्यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका छन्। उहाँले जापानका प्रधानमन्त्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया तथा कार्यक्रमलाई सम्बोधन गरेका छन्। साथै उहाँले टोकियोस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरेका छन्।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *