काठमाडौँ । हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाका लागि औषधि खरिदमा अनियमितता भएको पुष्टि भएपछि तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङ्कु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका सञ्चालक कृष्णकुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार ढकाल, स्याङ्कु र सुनारविरुद्ध एक लाख ९१ हजार ८५० रुपैयाँ बिगो दाबी गरिएको छ। त्यस्तै, आर्यन फार्माका सञ्चालक भुजुवाविरुद्ध एक लाख ९० हजार ८ सय रुपैयाँ बिगो माग गर्दै कानुनअनुसार सजायको माग गरिएको छ।
अख्तियारले औषधि खरिद प्रक्रियामा कानुनविपरीत कार्य भएको ठहर गर्दै चारै जनामाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।




