देश

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–३ मा ४१ उम्मेदवारबीच बहुपक्षीय प्रतिस्पर्धा

जलेश्वर (महोत्तरी)। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रको चुनावी प्रतिस्पर्धा पूर्वमन्त्री, बागी उम्मेदवार, नयाँ दलका युवा नेता तथा स्थापित राजनीतिक परिवारबीच केन्द्रित भएको छ ।

चुनावी प्रतिस्पर्धामा दुई जना पूर्वमन्त्री, दुई बागी उम्मेदवार तथा जेनजी आन्दोलनपछि नयाँ राजनीतिक एजेन्डासहित उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका युवा उम्मेदवारसमेत सहभागी छन् । साथै, जनता समाजवादी पार्टी नेपालका संरक्षक एवं पूर्वउपप्रधानमन्त्री महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर पनि यस क्षेत्रबाट उम्मेदवार बनेकी छन् ।

२०७५ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लगातार दुईपटक यही क्षेत्रबाट निर्वाचित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यसपटक छोरी मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएका हुन् । मिनाक्षीले मतदाता भेटघाट र घरदैलो अभियानलाई तीव्र बनाएकी छन् ।

यसअघिको निर्वाचनमा ठाकुरकी प्रमुख प्रतिस्पर्धी रहेका पूर्वकृषिमन्त्री हरिनारायण यादवले यसपटक जनता समाजवादी पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उहाँ पनि सक्रिय रूपमा घरदैलो अभियानमा जुटिरहनुभएको छ ।

यसैगरी अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका रामआधार कापरले यसपटक पुनः स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन लोसपा र महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेसले यसपटक भने उम्मेदवार खडा गरेको छ । कांग्रेसले बजरङ्ग नेपालीलाई चुनावी मैदानमा उतारेको हो ।

यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजकुमार सिंह, नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा, उज्यालो नेपाल पार्टीका रञ्जितकुमार साहलगायत तीन दर्जनभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *