काठमाडौँ । मोरङमा घरेलु विवादका क्रममा एक युवकले श्रीमतीको हत्या गरेपछि स्वयंको पनि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले मंगलबार बिहान रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा पुगेर श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् ।
प्रारम्भिक अनुसन्धानअनुसार सोमबार बेलुका ससुराली घर पुगेका मुकेश र अम्बिकाकुमारीबीच घरेलु विवाद भएको थियो । सोही क्रममा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना बिहान करिब पौने तीन बजेतिर भएको प्रहरीको भनाइ छ । विवादको कारण यकिन भइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाल दुवै जनाको शव घटनास्थलमै रहेको र प्रहरी टोलीले मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




