काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास आपूर्ति नियमित भइसकेको दाबी गरिरहँदा काठमाडौं उपत्यकाका उपभोक्ता भने पछिल्लो १० दिनदेखि ग्यासको खोजीमा भौँतारिन बाध्य छन्। खाना पकाउने ग्यास अभावले विशेषगरी विद्यार्थी र न्यून आय भएका परिवारको दैनिकी प्रभावित बनेको छ।
उपत्यकाका विभिन्न स्थानमा रित्तो सिलिन्डर बोकेर पसल–पसल धाउने उपभोक्तालाई ‘ग्यास आएको छैन’ भन्ने जवाफ सामान्य बनेको छ। कतिपय ठाउँमा ग्यास उपलब्ध भए पनि कालोबजारीको गुनासो बढ्दो छ। त्रिभुवन विश्वविद्यालय आसपासका क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थीहरू ग्यास नपाउँदा वैकल्पिक उपाय अपनाउन बाध्य भएका छन्।
कीर्तिपुरमा बस्दै आएका विद्यार्थी सुरेश बडालका अनुसार एक हप्ताभन्दा बढी समयदेखि ग्यास पाउन नसक्दा समस्या झनै चर्किएको छ। सरकार ग्यास पर्याप्त भएको दाबी गरिरहे पनि बजारमा त्यसको प्रभाव नदेखिएको उनको गुनासो छ। ‘हामीलाई भान्सामा चाहिएको ग्यास हो, कागजमा भएको आपूर्ति होइन,’ उनले भने।
कलंकी, बालाजु, रानीवन, टेकुलगायत क्षेत्रका उपभोक्ताको अनुभव पनि उस्तै छ। कतिपय डिलरले नाम टिपाएर ‘ग्यास आएपछि फोन गर्छौं’ भन्ने आश्वासन दिए पनि कहिले आपूर्ति हुने हो भन्ने निश्चितता छैन। सधैं घरमै आइपुग्ने ग्यास अहिले पसलमै सिलिन्डर पुर्याउँदा पनि नपाइने अवस्था बनेको उपभोक्ताको गुनासो छ।
ग्यास विक्रेताहरू भने आफूहरू पनि समस्यामा परेको बताउँछन्। काठमाडौंका एक ग्यास विक्रेता सुमन गौतमका अनुसार डिलरबाटै मागअनुसार ग्यास नआउँदा ग्राहकलाई फर्काउनुपरेको छ। ‘हामीले चाहेर पनि दिन सकेका छैनौं,’ उनले भने, ‘डिलरमै अभाव छ।’
ग्यास विक्रेता महासंघ नेपालले जाडो मौसमसँगै ग्यास खपत २०–२५ प्रतिशतसम्म बढ्दा उद्योगीहरूले पर्याप्त मात्रामा ग्यास लोड नगरेको कारण बजारमा अभाव देखिएको जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु दुलालका अनुसार मौसमी माग, प्राविधिक समस्या र उपभोक्ताको ‘होल्ड गर्ने’ प्रवृत्तिले समस्या थपिएको हो।
उनले अभावको हल्ला फैलिनासाथ उपभोक्ताले खाली भएका सबै सिलिन्डर भरेर राख्ने प्रवृत्तिले कृत्रिम अभाव जस्तो देखिएको बताए। महासंघले आयल निगम र ग्यास उद्योगीहरूसँग निरन्तर छलफल गरिरहेको र एक सातादेखि १० दिनभित्र आपूर्ति सहज हुने दाबी गरेको छ।
यता, नेपाल एलपी ग्यास उद्योग संघले भने ४–५ दिनमै बजार सामान्य अवस्थामा फर्किने दाबी गरेको छ। संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतको बरौनी रिफाइनरीमा आएको प्राविधिक समस्या र मर्मतका कारण आपूर्तिमा ढिलाइ भएको थियो, जुन अहिले समाधान भइसकेको छ। पछिल्ला दिनमा ठूलो परिमाणमा ग्यास भित्रिन थालेको उनको भनाइ छ।
तर नेपाल आयल निगम भने समस्या समाधान भइसकेको दाबीमै अडिग छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार केही उद्योगको ढुवानीमा आएको अवरोध हटिसकेको र हाल मागभन्दा बढी ग्यास लोड भइरहेको छ। जाडो मौसममा नेपाल र भारत दुवैतर्फ खपत बढ्दा र ढुवानी व्यवस्थापन कमजोर हुँदा समस्या देखिएको उनले बताए।
निगमका अनुसार हाल दैनिक ९० देखि १ सय बुलेटसम्म ग्यास लोड भइरहेको छ, जुन सामान्य खपतभन्दा बढी हो। त्यसैले उपभोक्ताले आत्तिनुपर्ने अवस्था नरहेको निगमको दाबी छ। तर एउटामात्र सिलिन्डर प्रयोग गर्ने उपभोक्तालाई भने रोटेसनका कारण असहजता हुन सक्ने स्वीकारोक्ति पनि निगमले गरेको छ।
सरकार, उद्योगी र विक्रेता सबैले आपूर्ति सहज बन्दै गएको दाबी गरिरहँदा उपभोक्ताको भान्सामा भने अझै ग्यासको चुलो बल्न सकेको छैन। कागजी दाबी र बजारको वास्तविक अवस्थाबीचको यही अन्तरले उपभोक्तालाई सबैभन्दा ठूलो सास्ती दिएको देखिन्छ।




