काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले जिल्ला प्रहरी परिसरले आफूलाई सामान्य भेटघाटको बहानामा बोलाएर लामो समय बयान लिएको आरोप लगाएका छन्। आइतबार प्रहरी परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले कुनै औपचारिक विषय नभएको भन्दै बोलाइएको तर उपस्थित भएपछि घण्टौँ सोधपुछ गरिएको बताए। उनका अनुसार प्रहरीसँग कुनै कानुनी मुद्दा नभएको विश्वास दिलाएर बोलाइए पनि अन्ततः बयान लिएर तारिखमा राखिएको छ।
“केही छैन, सामान्य कुरा हो भनेर बोलाइयो। यहाँ आएपछि सबै बयान लिइयो र आजदेखि तारिखमा राखियो,” प्रसाईंले भने, “अब २८ गतेका लागि पुनः तारिख तोकिएको छ।” प्रसाईंले चितवनमा आयोजना हुन लागेको आफ्नो र्याली तथा सभालाई प्रभावित पार्ने उद्देश्यले आफूलाई नियोजित रूपमा झन्झटमा पारिएको दाबी गरे। उनका अनुसार देश, राष्ट्र र हिन्दु अधिराज्यको पक्षमा हुने कार्यक्रममा अवरोध सिर्जना गर्न प्रहरी प्रशासन सक्रिय भएको हो।
“देश र राष्ट्र जोगाउने अभियानका कार्यक्रमलाई कमजोर पार्न अहिले नै मलाई यहाँ ल्याएर दुःख दिइयो,” उनले भने। प्रसाईंले आफूले यसअघि प्रहरीको तलब–सुविधा वृद्धि लगायतका विषयमा आवाज उठाएको स्मरण गराउँदै त्यही कारण आफूलाई छलपूर्वक बोलाइएकोप्रति दुःख व्यक्त गरे।
आफूलाई नियन्त्रणमा लिएर अभियान रोकिने छैन भन्ने चेतावनी दिँदै उनले प्रहरी महानिरीक्षक र गृहमन्त्रीलाई समेत प्रत्यक्ष सन्देश दिए। “दुर्गा प्रसाईंको शरीरमा एक थोपा रगत रहुन्जेल म पश्चिमाहरू र तस्करहरूसँग लडिरहन्छु,” उनले भने, “मलाई सहिद गेटमा झुन्ड्याइयोस्, म मर्न तयार छु, तर हिन्दु राष्ट्र र राजसंस्था फर्काउने अडानबाट पछि हट्दिनँ।” प्रसाईंका यी अभिव्यक्तिपछि प्रहरीको भूमिकाबारे प्रश्न उठिरहेका छन् भने चितवनमा हुन लागेको कार्यक्रम र त्यसको सुरक्षालाई लिएर थप चासो बढेको छ।
यस्तै प्रसाईंले सुशीला कार्की नेतृत्वको सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको इशारामा चलिरहेको दावी गरे । ‘रवि लामिछाने,बालेन,सुदन गुरुङ बाहिर हुँदा त यत्तिको छ, भोलि यिनीहरु आफैँ सरकारमा गए भने उनीहरूविरुद्ध कोही बोल्न नपाउने रहेछन्’,उनले भने, ‘भोलि चितवनमा मेरो कार्यक्रम छ,त्यसलाई रोक्न मलाई झुक्याएर तारिख छ भनी बोलाइयो ।’




