काठमाडौं । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक बस्ती जयबागेश्वरी र हाडीगाउँलाई ‘मौलिक नेवारी स्वरूप’मा रूपान्तरण गर्ने भन्दै करिब १८ करोड ४९ लाख रुपैयाँ खर्चेर मास्टरप्लान कार्यान्वयन थालेको छ। तर यो योजना साँच्चिकै सम्पदामैत्री र स्थानीय जीवनसँग कति मेल खान्छ भन्ने प्रश्न अझै उठिरहेका छन्।
महानगरपालिका–७ अन्तर्गत पर्ने जयबागेश्वरी र वडा नम्बर ५ मा पर्ने हाडीगाउँका सडकछेउका घरधुरीलाई प्राथमिकतामा राख्दै घरको अग्रभाग (फसाड) परिवर्तन गरिनेछ। जयबागेश्वरी क्षेत्रमा मात्रै ९ करोड ४ लाख रुपैयाँ छुट्याइएको छ, जहाँ जयबागेश्वरी मन्दिरदेखि सिफल चौरको सेतो ढोकासम्म करिब २९० मिटर सडकको दायाँ–बायाँ रहेका ७५ घरधुरी समेटिएका छन्।
‘पाइलट प्रोजेक्ट’को रूपमा कार्यान्वयन
वडाध्यक्ष तथा महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार यो योजना ‘पाइलट प्रोजेक्ट’ हो। “सिधै भित्री बस्तीमा जानुभन्दा पहिला मुख्य सडकछेउका घरबाट सुरू गरेका हौँ,” उनी भन्छन्, “यसबाट आउने अनुभव र प्रतिक्रिया हेरेर योजना विस्तार गरिनेछ।” महानगरको योजना अनुसार सिमेन्टको प्लास्टर हटाएर दाची अप्पा, माअप्पा, चुनासुर्की, झिँगटीको छाना तथा बुट्टेदार काष्ठकलाका ढोका–झ्याल प्रयोग गरिनेछ। फलामे सटर र एलुमिनियम संरचना हटाएर परम्परागत शैली झल्किने आवरण दिने तयारी छ।
नवाली टोलकी राधिका संगतजस्ता कतिपय स्थानीय भने योजनाप्रति उत्साहित देखिन्छन्। “घरको बाहिरी स्वरूप सित्तैमा फेरिने भएपछि खुशी नै लाग्यो,” उनी भन्छिन्, “मेरो माइती भक्तपुरजस्तै बस्ती सुन्दर होला भन्ने आशा छ।”
तर सबै स्थानीय समान रूपमा लाभान्वित नहुने देखिन्छ। सडकभित्र पर्ने घरधुरीका बासिन्दा भने योजना कहिले आफ्नो पालोमा आइपुग्ला भन्ने प्रतीक्षामा छन्।
जयबागेश्वरीसँगै अर्को लिच्छविकालीन बस्ती हाडीगाउँमा पनि करिब ९ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएर ३०९ मिटर सडकछेउका ५४ घर को अग्रभाग परिवर्तन गर्ने तयारी छ।
स्थानीय सुजन महर्जन योजनालाई सकारात्मक रूपमा लिन्छन्। “घरको बाहिरी सौन्दर्य बढ्छ, पर्यटकीय आकर्षण पनि बढ्छ,” उनी भन्छन्।
मल्ल र राणाकालीन शैलीको मिश्रण
महानगरको शहरी योजना आयोगका आर्किटेक्ट आनन्द मानन्धरका अनुसार योजना मुख्यतः मल्लकालीन र राणाकालीन नेवा शैलीमा आधारित छ। “सबै घर एउटै ढाँचामा हुँदैनन्,” उनी भन्छन्, “कसैमा झिँगटी, कसैमा चुनासुर्की, कतै विशुद्ध राणाशैली, कतै मिश्रित स्वरूप अपनाइनेछ।”
उनका अनुसार यो योजना घरको संरचनाभन्दा पनि बाहिरी आवरणमा सीमित छ।
विज्ञको चेतावनी :मौलिकता नाममा अति प्रयोग ?
सम्पदा अध्येता भरत महर्जन भने योजना कार्यान्वयनप्रति सचेत हुनुपर्ने बताउँछन्।
“दाची अप्पा जताततै प्रयोग गर्नु नै मौलिकता होइन,” उनी भन्छन्, “सम्पदा सामग्रीको प्रयोगको आफ्नै सन्दर्भ र मर्यादा हुन्छ।” उनका अनुसार सम्पदालाई केवल सौन्दर्य र गौरवसँग मात्र होइन, आर्थिक जीवनसँग पनि जोड्नुपर्ने आवश्यकता छ।
व्यवसाय र व्यवहारिकताको प्रश्न
योजनाअनुसार सटर हटाएर काठको ‘सम्पदामैत्री सटर’ राखिनेछ। तर यसले व्यापारमा असर गर्छ कि गर्दैन भन्ने चिन्ता व्यवसायी र घरधनीमा छ। महानगरका आर्किटेक्ट मानन्धर भने आर्थिक गतिविधि प्रभावित नहुने दाबी गर्छन्। सम्पदा संरक्षणविद् रवीन्द्र पुरी जेनतेन जोगिँदै आएका ऐतिहासिक बस्तीलाई व्यवस्थित रूपमा संरक्षण गर्नु आवश्यक रहेको बताउँछन्। तर उनी चेतावनी पनि दिन्छन्— “राम्रो उद्देश्यले सुरु गरिएको काम विज्ञ समन्वय बिना अघि बढ्दा उल्टो परिणाम आउन सक्छ।”
जयबागेश्वरी र हाडीगाउँको रूपान्तरण योजना सौन्दर्यीकरण र पहिचान जोगाउने दिशामा एउटा प्रयास अवश्य हो। तर स्थानीय आवश्यकता, आर्थिक यथार्थ, सम्पदाको मौलिक आत्मा र दीर्घकालीन संरक्षण बीच सन्तुलन मिल्न सकेन भने यो योजना केवल ‘सुन्दर मोहडा’मै सीमित हुने खतरा पनि उत्तिकै देखिन्छ।




