देश

साइबर ब्युरोको भोटाहिटीस्थित भवन महानगरलाई प्रयोग गर्न गृहमन्त्रालयको सहमति

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न गृहमन्त्रालयले सहमति प्रदान गरेको छ।

साइबर ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा रहेको कुल ४ आना, २ पैसा १ दाम क्षेत्रफलको जग्गा र सो जग्गामा निर्माण भएको भवन महानगरपालिकाले प्रयोग गर्नेगरी गृहमन्त्रालयले निर्णय गरेको हो।

यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी, २ पैसा, ३ दाम क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न काठमाडौँ महानगरपालिका सहमत भएको छ। आइतबार गृहमन्त्रालयमा दुई पक्षबीच भएको छलफलपछि उक्त सहमति भएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए।

उपसचिव पौडेलका अनुसार रामशाहपथस्थित जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा संरक्षण कम्पनी कार्यालयका लागि प्रयोग गरिनेछ भने बाँकी जग्गा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ।

यसअघि काठमाडौँ महानगरपालिकाले भोटाहिटीस्थित साइबर ब्युरो रहेको भवनमा वडा कार्यालय सञ्चालन गर्न माग गर्दै आएको थियो। सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण स्थानीय तहको जिम्मेवारी हुने कानुनी व्यवस्था अनुसार सम्बन्धित निकायसँग समन्वय र सम्झौता गरी प्रयोग गर्न सकिने प्रावधानअनुसार गृहमन्त्रालयसँग सहमति लिइएको गृह मन्त्रालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *