नुवाकोट । नुवाकोट क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचन यसपटक अनुभवी राष्ट्रिय नेतृत्वप्रति स्थानीय जनताको भरोसा कति छ भन्ने परीक्षा बनेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् अनुभवी नेता डा. प्रकाशशरण महत।
ऊर्जा, परराष्ट्र तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका डा. महत पहिलो पटक आफ्नै जन्मथलो नुवाकोटबाट प्रत्यक्ष निर्वाचनमा होमिएका हुन्। विद्यार्थी राजनीतिबाट उदाएका उनी नेविसंघका महामन्त्री हुँदै कांग्रेसको मूलधार राजनीतिमा स्थापित भएका नेता हुन्।
समानुपातिक सांसदका रूपमा र मन्त्री पदमा रहँदा उनले नीतिगत तहमा स्पष्ट छाप छोडेका छन्। ऊर्जा मन्त्री हुँदा विद्युत् विस्तार र अर्थमन्त्रीका रूपमा बजेट तथा विकास योजनामा खेलेको भूमिकालाई सकारात्मक रूपमा लिइन्छ।
निर्वाचन जित्नुअघि नै बालाजु–रानीपौवा र गगटे–गोल्फुभञ्ज्याङ सडकजस्ता योजनामा बजेट सुनिश्चित गराएर उनले नुवाकोटका लागि ठोस काम गरेको दाबी छ।
अनुभव, योगदान र पार्टी एकताका आधारमा डा. महत नुवाकोट–१ मा जितका बलिया दावेदारका रूपमा हेरिएका छन्। यो चुनावलाई धेरैले जिल्लालाई विकास र राष्ट्रिय नेतृत्वसँग जोड्ने अवसरका रूपमा लिएका छन्।




