काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटले राजधानीको माछापोखरीस्थित नागार्जुन पार्टी प्यालेसमा आयोजना गरेको विशेष कार्यक्रममार्फत पार्टीभित्रको एकता र सहकार्यको सशक्त सन्देश दिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसबाट नुवाकोटका प्रतिनिधिसभा उम्मेदवार डा. प्रकाशशरण महत, जगदीश्वरनरसिंह केसी तथा केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामा एउटै मञ्चमा उपस्थित भई एक–आपसमा हात मिलाउँदै पार्टी एकताप्रति प्रतिबद्धता व्यक्त गरे ।
करिब तीन हजार नेता–कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सिता मिजार, पूर्व जिल्ला सभापति धुर्व अधिकारीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोट–१ का उम्मेदवार डा. प्रकाशशरण महतले कांग्रेसभित्र विवाद रहेको भन्दै फैलाइएका हल्ला निराधार भएको स्पष्ट पारे । उनले अब नुवाकोट कांग्रेस पूर्ण रूपमा एकताबद्ध भएर निर्वाचनमा होमिएको बताए । नुवाकोट जिल्लामा विकासको आधार निर्माण गर्ने पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्दै उनले आफू ऊर्जा मन्त्री हुँदा जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको र अर्थमन्त्री हुँदा बालाजु–ककनी सडक कालोपत्रे तथा पिपलटार–गोल्फुभञ्ज्याङ सडक निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराए ।
डा. महतले कांग्रेसको मुख्य नारा ‘कुरा कम, काम धेरै’ रहेको उल्लेख गर्दै अब जनताले कुरा धेरै गर्ने कि काम धेरै गर्ने पार्टी रोज्ने समय आएको बताए । कांग्रेस काममा विश्वास गर्ने पार्टी भएको उनको भनाइ थियो ।
नुवाकोट–२ का उम्मेदवार जगदीश्वरनरसिंह केसीले अहिले देश बनाउने कि जलाउने भन्ने विषयमा मतदाताले निर्णय गर्ने समय आएको बताए । महत र आफू नाताले दाजुभाइ नभए पनि नेपाली कांग्रेस दुवैका लागि पिता समान भएकाले दाजुभाइसरह भएको उल्लेख गर्दै दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराउन एकताबद्ध भएर लाग्न आग्रह गरे । कांग्रेस सुध्रिएर आएको र देश विकास तथा लोकतन्त्रको रक्षा गर्न सक्षम एकमात्र पार्टी भएको दाबी गर्दै उनले नयाँ दलहरू हल्लामै सीमित रहेको टिप्पणी गरे ।
केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामाले कांग्रेस बदलिएर आएको र अब देश बदल्ने सामर्थ्य राख्ने पार्टी बनेको दाबी गरे । उनले नुवाकोटका दुवै उम्मेदवारलाई जिताउन पार्टीका नेता–कार्यकर्तालाई कुनै कसर बाँकी नराखी लाग्न निर्देशन दिए । नयाँ दलले सांसद भए नीति निर्माण मात्रै गर्ने भन्ने तर्कप्रति कटाक्ष गर्दै उनले कांग्रेस सांसदहरू नीति निर्माणसँगै विकास निर्माण र जनताको हरेक दुःख–सुखमा साथ दिने पार्टी भएको बताए ।
जिल्ला सभापति रमेश महतको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले जिल्लामा उम्मेदवार जिताउने तयारी तथा नीतिगत निर्णयबारे जानकारी गराए । आयोजकका अनुसार पार्टीका शीर्ष नेता अर्जुननरसिंह केसी र डा. रामशरण महत स्वास्थ्य कारणले कार्यक्रममा उपस्थित हुन नसके पनि कांग्रेस एकताबद्ध रहेको सन्देश पठाएका थिए ।
विगतमा कांग्रेस एक नभएको र आफ्नै उम्मेदवार हराउन कार्यकर्ता परिचालन हुने हल्लाबीच आयोजना गरिएको यस कार्यक्रमले गाउँ–टोलसम्म एकताको सन्देश पुर्याउने उद्देश्य लिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हजारौँ नेता–कार्यकर्ताले तालीको गडगडाहटसहित कांग्रेस एकताबद्ध भएको सन्देश गाउँ–गाउँ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।




