काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले गरिरहेका सिट आकलन र जितको दाबीमाथि कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले दलहरूका दाबी सुन्दा नेपालमा कसैले पनि चुनाव हार्ने तयारी गरेको नदेखिएको भन्दै व्यङ्ग्य गरेका हुन् ।
पछिल्लो समय विभिन्न दलका नेताहरूले बहुमत ल्याएर एकल सरकार बनाउने दाबी गरिरहेका सन्दर्भमा बास्कोटाको टिप्पणी आएको हो । उनले लेखेका छन्, “चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुने देखिँदैन । सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।”
नेता बास्कोटाले चुनावी होहल्ला र दाबीभन्दा वास्तविक निर्णय मतदाताकै हातमा हुने उल्लेख गरेका छन् । निर्वाचनअघि गरिने यस्ता दाबीलाई उनले ‘मनोवैज्ञानिक होडबाजी’ का रूपमा व्याख्या गर्दै अन्तिम फैसला जनताको विवेकमा निर्भर रहने बताएका छन् ।
“मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट होला,” उनले अगाडि लेखेका छन्, “हो–हल्ला, झुटमुट र आरोप–प्रत्यारोप त युरोप–अमेरिकामा पनि देखिन्छ, यो त नेपालका लागि सामान्य कुरा हो।”




