काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षभित्र ठोस रूपमा उपलब्धि हासिल गर्न सक्ने कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा घोषणापत्र तयारीका लागि विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझाव संकलनका क्रममा अध्यक्ष ओलीले जनताको व्यावहारिक आवश्यकता समेटेर घोषणापत्र तयार भइरहेको बताएका हुन् । उनका अनुसार देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख–समृद्धि सुनिश्चित गर्ने लक्ष्य घोषणापत्रमा समावेश गरिनेछ ।
अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न हुने वातावरण निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले एमाले सुदृढ संगठन, व्यापक जनमत र लोकप्रियतासहितको पार्टी भएको उल्लेख गर्दै गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनःनिर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न पार्टीले उच्च मनोबलका साथ नेतृत्व गर्ने बताएका छन् ।
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट सम्भव नहुने उल्लेख गर्दै उनले यसको संरक्षणका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षाको नीति अपनाइने बताएका छन् ।
कार्यक्रममा सहभागी विज्ञहरूले पार्टीको घोषणापत्र जनतालाई प्रत्यक्ष लाभ पुग्ने र व्यवहारमा कार्यान्वयनयोग्य हुनुपर्ने सुझाव दिएका थिए ।
एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।




