देश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान खरिद अनियमितता : उपकूलपतिसहित १९ जनाविरुद्ध मुद्दा

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जना व्यक्ति तथा हिमालयन मेडिटेक प्रा.लिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ अनियमितता भएको ठहर गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार मुद्दा दायर हुनेमा तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, कामु रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल रहेका छन् ।

त्यसैगरी शाखा अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह, हिमालयन मेडिटेक प्रा.लि. तथा कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले प्रतिवादी सबैसँग जनही ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बिगो माग गर्दै कानुनबमोजिम कारबाहीको माग गरेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *