कोशी प्रदेश

कान्तिपुर टेलिभिजनबाट कोशी एक्सिलेन्स अवार्ड–२०२६ को प्रत्यक्ष प्रसारण

काठमाडौँ । कोशी एक्सिलेन्स अवार्ड–२०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ ।

यस सम्बन्धमा बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका बिजनेस प्रमुख सागर केसी तथा मार्केटिङ मेनेजर अनुपम अधिकारीबीच अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो ।

आउँदो फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्ट्रन होटलमा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड–२०२६ कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको हो ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

यस वर्ष अवार्डलाई थप परिष्कृत र प्रभावशाली बनाउने उद्देश्यले अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट गरी तीन नयाँ विधा थप गरिएको छ । यससँगै कुल १६ विधामा अवार्ड प्रदान गरिने नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्सलगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो ।

अवार्डलाई थप विश्वासिलो र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए । समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया पारदर्शी र तीव्र ढङ्गले अघि बढाइरहेको जनाइएको छ ।

कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष–२०८२’ को तयारी गरिरहेको सन्दर्भमा अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

अवार्ड कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *