काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले अन्य दलका उम्मेदवारहरू विगतका मितिमा अल्झिएको आरोप लगाए । उनले भने, “कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को । तर नेपाली काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार माघ १ को हो,” भन्दै काँग्रेस परिवर्तनको दिशामा अघि बढेको स्पष्ट पारे ।
शर्माले पार्टीले विगतका कमजोरीहरूको आत्मालोचना गर्दै आफूलाई बदलेको र नयाँ सोचसहित देश परिवर्तनका लागि अग्रसर भएको बताए । काँग्रेसले क्षमा माग्ने साहस देखाएको र पार्टीभित्रका सबैलाई एकताबद्ध गरेर नयाँ युगतर्फ अघि बढिरहेको उनको भनाइ थियो ।
उनका अनुसार सद्भाव, सुशासन र समुन्नत नै अहिलेका मुख्य राजनीतिक मुद्दा हुन् । “अहिले नेपाली समाजलाई सबैभन्दा बढी आवश्यक कुरा सद्भाव हो,” उनले भने ।
निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै शर्माले काँग्रेस अब आत्मालोचनासहित देश परिवर्तनको जिम्मेवारी वहन गर्न तयार रहेको बताए ।




