रौतहट । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधिसभा निर्वाचनको माहोल रोचक देखिएको छ। राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिका वडा १ र गढीमाई नगरपालिका वडा ६, ७ र ८ समेटिएको यस क्षेत्रमा पुराना नेताहरू आफ्नो विरासत जोगाउने र नयाँ अनुहार आफ्नो इतिहास रच्ने दौडमा छन्। यसैकारण सात स्थानीय तह समेटिएको यो निर्वाचन क्षेत्र अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं–१ मा कुल ४१ वडा, ६७ मतदान स्थल र १३२ मतदान केन्द्र छन्। यहाँ मतदाता संख्या १ लाख ८ हजार ७२६ रहेको छ, जसमध्ये ६० हजार २६९ पुरुष र ४८ हजार ५९७ महिला मतदाता छन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २०५६ सालदेखि २०७९ सालसम्म यही क्षेत्रबाट तीन पटक निर्वाचित भइसकेका छन्। लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका नेपालका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ।
त्यसैगरी, २०७४ सालमा तत्कालीन जनता समाजवादी पार्टीबाट विजयी भएका अनिलकुमार झा यसपटक नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनावी मैदानमा छन्। उनी पनि यस क्षेत्रका प्रभावशाली नेतामध्ये पर्छन्।
नेकपा एमालेबाट अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश चौधरी र जनता समाजवादी पार्टी नेपालबाट योगेन्द्र राय यादव नयाँ उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन्। यी उम्मेदवारहरूले मत विभाजनमा महत्वपूर्ण भूमिका खेल्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन्।
निर्वाचन अधिकृतका अनुसार यहाँ १८ राजनीतिक दलका उम्मेदवार र २१ स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना चुनावी मैदानमा छन्। जसमध्ये ३ जना महिला र ३६ जना पुरुष उम्मेदवार रहेका छन्। मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार उम्मेदवारहरूले यतिबेला मतदातासँग भेटघाट, घरदैलो र सभासम्मेलनको काम तीव्र बनाएका छन्।
निर्वाचन क्षेत्रको इतिहास
रौतहट–१ मा मतदाताले पटक–पटक फरक–फरक दल र उम्मेदवारलाई अवसर दिएका छन्।
२०४८, २०५१ सालमा नेपाली कांग्रेसका ब्रजकिशोर सिंह विजयी भए।
२०५६ सालमा नेकपा एमालेका माधवकुमार नेपालले कांग्रेसका सिंहलाई पराजित गरे।
२०६४ सालको संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बवन सिंह विजयी भए।
२०७० सालमा पुनः माधवकुमार नेपाल निर्वाचित भए।
२०७४ सालमा राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले २१ हजार ४७२ मतसहित जित हात पारे।
२०७९ सालमा माधवकुमार नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भए, जबकि नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत पाए।
यसपटकको चुनावी गणित
अनुभवी नेता माधवकुमार नेपालको व्यक्तिगत प्रभाव, कांग्रेसका अनिलकुमार झाको क्षेत्रीय पकड, एमालेका अजयकुमार गुप्ताको संगठन शक्ति र रास्वपा तथा जसपाका उम्मेदवारहरूले आकर्षित गर्ने युवा र मधेसी मतले चुनावलाई अत्यन्तै रोचक बनाएको छ।
राजनीतिक विविधता र धेरै उम्मेदवारको उपस्थितिले रौतहट–१ मा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र अनिश्चित बनाएको देखिन्छ।




