मुख्य समाचार

काठमाडौं–५ निर्वाचन: पौडेल–पोखरेलका बीच कडा प्रतिस्पर्धा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं–५ मा २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनका विजेता नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यस क्षेत्रका प्रमुख प्रतिस्पर्धी हुन्।

कांग्रेसमा नेतृत्व परिवर्तनमार्फत सुधारको पक्षमा उभिएको श्रेय पौडेललाई दिइन्छ। उता, एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिँदै आएका पोखरेललाई पनि पार्टीभित्र परिवर्तनको पक्षधर नेताका रूपमा हेरिन्छ। पौडेल आफ्नो राजनीतिक विरासत जोगाउँदै पुनः संसद् प्रवेशको प्रयासमा छन् भने ०७४ मा निर्वाचित पोखरेल यसपटक आफ्नो पक्षमा नतिजा फर्काउने कसरतमा छन्।

यी दुईलाई राप्रपाका पूर्वअध्यक्ष कमल थापासहित अन्य उम्मेदवारहरूले चुनौती दिइरहेका छन्। ०३८ सालदेखि मूलधारको राजनीतिमा सक्रिय थापाले पञ्चायत, बहुदल र गणतन्त्रकालमा उपप्रधानमन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। काठमाडौं–५ मा परम्परागत मताधार रहेको दाबी गर्दै राप्रपाले त्यसकै आधारमा अघि बढेको जनाएको छ।

ठूला दलका परिपक्व उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ३४ वर्षीय युवा उम्मेदवार संस्मित पोखरेलले चुनौती दिँदैछन्। अघिल्लो निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका उनले यसपटक रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन्।

उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ प्रतिस्पर्धामा छन्। यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा झन्डै तीन हजार मत पाएका दरबारमार्गका व्यवसायी गुरुङले यसपटक मुद्दा र उम्मेदवार दुवैलाई हेरेर मतदाताले निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीबाट कल्पना शर्माले उम्मेदवारी दिएकी छन्। उनी तत्कालीन नेकपा माओवादीका नेता दिनानाथ शर्माकी छोरी हुन्। यही क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अशोकविक्रम जिसी पनि चुनावी मैदानमा छन्। जिसी नेकपा मशालका महासचिव मोहनविक्रम सिंहका छोरा हुन्।

पूर्व डीआईजी वसन्त कुँवरले जय मातृभूमि पार्टीबाट उम्मेदवारी दिएका छन् भने कलाकार निशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा छिन्। स्वतन्त्रसहित छ जना महिला उम्मेदवार रहेको काठमाडौं–५ मा कुल २६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ।

०४८ यताका निर्वाचन परिणाम

काठमाडौं–५ मा कांग्रेस र एमालेले तीन–तीन पटक चुनाव जितेका छन्। ०४८ सालमा दुई निर्वाचन क्षेत्रबाट विजयी भएका तत्कालीन एमाले महासचिव मदन भण्डारीले यो क्षेत्र पनि जितेका थिए। पछि काठमाडौं–१ रोजेपछि भएको उपचुनावमा एमालेकै कृष्णगोपाल श्रेष्ठ निर्वाचित भए।

०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका राजेन्द्र श्रेष्ठ विजयी भए भने ०५६ सालमा पनि उनले जित दोहोर्‍याए। ०६४ सालमा कांग्रेसले जित निकाल्दा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नरहरि आचार्य संविधानसभा सदस्य बने। उनले ०७० सालमा पनि एमालेका ईश्वर पोखरेललाई पराजित गर्दै जित निकाले।

०७४ मा पोखरेलले कांग्रेस नेता डा. प्रकाशशरण महतलाई पराजित गरे भने ०७९ मा कांग्रेसका प्रदीप पौडेल विजयी भए।

अघिल्लो निर्वाचनको मतपरिणाम

०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पौडेलले १५ हजार २६९ मत ल्याएर जित हासिल गर्दा एमालेका पोखरेलले १० हजार १९० मत पाए। रास्वपाका प्रणयशमशेर राणाले ५ हजार ४७७ मत र राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १६२ मत प्राप्त गरेका थिए।

त्यसबेला स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २ हजार ७६१ मत पाएका थिए।

०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पोखरेलले २३ हजार २९ मत ल्याउँदा कांग्रेसका डा. महतले १३ हजार १६९ मत पाए। विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्वलबहादुर थापाले ६ हजार ८५३ मत प्राप्त गरेका थिए।

स्थानीय तहको समीकरण

काठमाडौं–५ मा काठमाडौं महानगरपालिकाका वडा २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका वडा ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा २ देखि ७ सम्म पर्दछन्।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका सबै चार वडामा एमाले विजयी भएको छ। बूढानीलकण्ठका वडा ४ र ६ कांग्रेसले जित्दा वडा ३ र ७ एमालेले जितेको छ। वडा ५ मा राप्रपाले वडाध्यक्ष जितेको छ। टोखा नगरपालिकामा वडा ६ बाहेक सबै वडामा एमाले विजयी भएको छ।

स्थानीय तहको परिणाम हेर्दा एमाले बलियो देखिए पनि ०७९ को संघीय निर्वाचनमा कांग्रेसका पौडेलले एमालेका पोखरेललाई पराजित गरेका थिए। यसपटक पनि काठमाडौं–५ मा विरासत जोगाउने र परिवर्तन खोज्ने शक्तिबीच कडा प्रतिस्पर्धा देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *