बाँके। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर २ फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ। २० जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि चुनावी माहोल अपेक्षाकृत शान्त देखिन्छ। घरदैलो, माइकिङ, पर्चा वितरण र भेटघाट तीव्र भए पनि मतदाताको निर्णय अझै खुलिसकेको छैन।
कोही उम्मेदवार एक्लै माइक बोकेर मत माग्दै हिँडिरहेका छन् भने कोही दलबलसहित सडकमा उत्रिएका छन्। नेपालगञ्ज बजार र डुडुवा गाउँपालिका समेटिएको यो क्षेत्र विगतदेखि नै ‘फेरिने निर्णय’का लागि परिचित छ। एउटै उम्मेदवार दोहोरिएर विजयी नहुने इतिहासले यसपटकको निर्वाचनलाई पनि रोचक बनाएको छ।
यस क्षेत्रबाट नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला, राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई निर्वाचित भइसकेका छन्। वि.सं. २०६४ मा सुशील कोइरालाको अप्रत्याशित पराजयले बाँके–२ लाई ‘राजनीतिक सरप्राइज’को क्षेत्रका रूपमा चिनायो।
वि.सं. २०७९ मा एमाले गठबन्धनसहित राप्रपाका डा. धवलशमशेर राणाले २९ हजार ५७८ मतसहित विजय हासिल गरेका थिए। २०७४ मा भने संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई विजयी भएका थिए। यी परिणामले यहाँका मतदाता स्थिर नभएको संकेत गर्छन्।
यसपटक एमालेबाट मोहम्मद इस्तियाक राई, कांग्रेसबाट सुधांशु कोइराला, नेपाली कम्युनिस्ट पार्टीबाट सबैभन्दा कान्छा उम्मेदवार दिपेन्द्र बिष्ट, राप्रपाबाट ऋषिराज देवकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठसहित २० उम्मेदवार मैदानमा छन्।
डुडुवा गाउँपालिका–१, चौफेरिका रामदिन यादव भन्छन्, “२०७९ भन्दा यो निर्वाचन झनै प्रतिस्पर्धात्मक देखिन्छ। नेकपाका दिपेन्द्र बिष्ट र कांग्रेसका सुधांशु कोइरालाले पूर्वमन्त्रीका लागि कडा चुनौती दिएका छन्।”
कांग्रेस स्व. सुशील कोइरालाको राजनीतिक विरासत जोगाउने प्रयासमा छ भने अघिल्लो निर्वाचनमा विजयी राप्रपाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ। तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राई आफूले गरेका विकासका कामका आधारमा पुनः जनमत मागिरहेका छन्।
यसपटक चुनावी मैदानमा नयाँ तर चर्चित उपस्थिति बनेको छ—‘तारा’ चिन्ह। जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छा उम्मेदवार दिपेन्द्र बिष्ट सामाजिक सञ्जालदेखि टोल–टोलसम्म सक्रिय देखिन्छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता पूजा केडेल भन्छिन्, “दिपेन्द्र बिष्ट जेन–जीको आवाज हुन्। उहाँले युवालाई रोजगारी दिएको अनुभव छ।”
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा मत माग्न पुगेका बिष्टसँग मतदाताले ‘चिल्लो भाषण होइन, सफा खानेपानी चाहियो’ भन्ने प्रश्न दोहोर्याए। खानेपानीको समस्या सुनेपछि उनी भावुक बने। “जिते पनि नजिते पनि खानेपानी समस्या समाधानका लागि लाग्छु,” उनले भने। साथै उनले स्थानीय तहबाट आधारभूत आवश्यकता पूरा हुन नसकेकोप्रति प्रश्न उठाए।
शिक्षा, स्वास्थ्य, कृषि, सिचाइ, खानेपानी, पर्यटन, वातावरण, तटबन्ध र सामाजिक न्यायका मुद्दा उठे पनि नयाँ र पुराना शक्तिबीचको प्रतिस्पर्धा नै चुनावको मुख्य केन्द्रमा छ। पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा ९७ हजार ८०९ मतदाता छन्।
माओवादी जनयुद्ध र मधेश आन्दोलनको प्रभाव बोकेको बाँके–२ ले इतिहास दोहोर्याउने कि नयाँ अध्याय लेख्ने भन्ने निर्णय फागुन २१ गते हुनेछ।




