धनकौल (सर्लाही)। नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले स्थानीय जनताका बीचमै रहेर विकास निर्माणमा समर्पित हुने बताएका छन्।
मधेस प्रदेशअन्तर्गत सर्लाही–४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहेका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा बोल्दै सांसद कार्यालय स्थापना गरी मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरे।
उनले आफूलाई खोज्न अब मतदाताले बाहिर जानु नपर्ने उल्लेख गर्दै सम्पर्क कार्यालय यहीँ रहने बताए। पहाड र सहर बुझिसकेको र यसपटक मधेस बुझ्न उम्मेदवारीसहित आएको बताउँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आफ्नो अनुभव, ज्ञान र संयन्त्र प्रयोग गरेर समस्या समाधानमा लाग्ने बताए।
सभापति थापाले आफू नेता भएर होइन, सर्लाहीको बेटा (छोरा) बनेर आएको उल्लेख गर्दै मतदाताले दिएको मतको सम्मान गर्दै विकास निर्माणका काममा इमान्दारितापूर्वक समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन क्षेत्रका विभिन्न भेटघाट र छलफलबाट प्राप्त सुझाव तथा अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै सर्लाहीवासीको आग्रह र मायाका कारण यहाँ आएको र विश्वास तथा साथ पाउने आशा रहेको उनले बताए।
कार्यक्रममा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ अन्तर्गत प्रदेशसभा ‘ख’ का उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डितलगायत विभिन्न दलका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सभापति थापा यही माघ १६ गते शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।




