देश

राष्ट्रियसभामा शून्य समयः विभिन्न समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सदस्य कमला पन्तले २०७२ सालको भूकम्पमा परेका भूकम्पपीडितले केही राहत पाए पनि जाजरकोटका पीडितले अहिलेसम्म राहत पाएका छैनन् भन्दै सरकारलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरे।

सदस्य नारायणदत्त मिश्रले देशका धेरैजसो सडकको अवस्था कमजोर र खल्डाखुल्डी भएको बताउँदै डोटी जिल्लामा कालोपत्र गर्न भनिएको सडक अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

सदस्य भुवनबहादुर सुवारले अघिल्लो आर्थिक वर्षमा दलित समुदायका लागि छुट्याइएको बजेट फ्रिज भएको स्मरण गराउँदै अर्थ मन्त्रालयले विनियोजन गरेको रु ५० करोड तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

सदस्य युवराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग राख्दै पारदर्शिता र सुशासन कायम गर्नुपर्नेमा जोड दिए।

सदस्य राजेन्द्रलक्ष्मी गैरेले विभिन्न क्षेत्रमा सडकको दयनीय अवस्था र त्यसले यात्रुहरूलाई परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

सदस्य सुरेशकुमार आलेमगरले गत भदौ २३ र २४ गतेको आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा गम्भीर छानबिन गर्न सरकारलाई अनुरोध गरे।

बैठकमा उठेका यी विषयले सरकारको शीघ्र निर्णय र कार्यान्वयनको आवश्यकता औँल्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *