देश

बाराको परवानीपुरमा एकै परिवारका दुईको हत्या, तीन घाइते

वीरगञ्ज। बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आज बिहान एकै परिवारका दुई जनाको हत्या भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अज्ञात समूहले घरमै प्रवेश गरी धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो। आक्रमणमा परिवारका अन्य दुई सदस्य गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएकी छन्।

मृत्यु हुनेमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन्। आज बिहान करिब ३ बजे उनीहरूमाथि धारिलो हतियारले आक्रमण भएको प्रहरीले जनाएको छ। घटनामा मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरूप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले मृतक रामेश्वरकी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मनितालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए।

एकै परिवारका सदस्यको हत्या भएपछि रहरियाडी क्षेत्रमा शोक र त्रास फैलिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्राविधिक टोली र तालिमप्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान भइरहेको छ।

प्रहरी उपरीक्षक कुँवरले हत्या कसले र कुन उद्देश्यले गरेको हो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने आश्वासन दिनुभएको छ। घटनास्थल सिल गरी सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *