काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएको बताइएको छ। उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए।
विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए। दुर्घटनामा विमानमा सवार सबै घाइते भएको जनाइएको छ।
बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको बताइए पनि यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ। विमानका जलेका टुक्रा–टुक्रा छरिएका छन्।
घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोली खटिएका छन्। स्थानीय प्रशासन, एम्बुलेन्स तथा मेडिकल टोली घटनास्थलतर्फ परिचालित गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।




