देश

काठमाडौँमा चुनावी चहलपहल तीव्र, दलहरूले युवा र नयाँ अनुहारलाई प्राथमिकता

काठमाडौँ। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि प्रमुख राजनीतिक दल, साना दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले उम्मेदवारी दर्ता गराएसँगै राजधानीमा चुनावी सरगर्मी बढेको छ।

कांग्रेसमा नयाँ अनुहारको वर्चस्व

नेपाली कांग्रेसले काठमाडौँका १० मध्ये नौ क्षेत्रमा नयाँ उम्मेदवारलाई अवसर दिएको छ। काठमाडौँ–१ मा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्थानमा युवा नेता प्रबल थापाक्षेत्रीलाई उम्मेदवार बनाइएको छ। काठमाडौँ–२ मा कविर शर्मा फुयाँल, काठमाडौँ–३ मा रमेश अर्याल र काठमाडौँ–४ मा सचिन तिमल्सिना कांग्रेसका नयाँ उम्मेदवार हुन्।

काठमाडौँ–५ मा भने वर्तमान सांसद एवं महामन्त्री प्रदीप पौडेलले पुनः उम्मेदवारी दिनुभएको छ। अन्य क्षेत्रमा पनि कांग्रेसले पहिलो पटक प्रतिनिधि सभा चुनाव लड्ने उम्मेदवारलाई प्राथमिकतामा राखेको छ।

एमालेमा अनुभवलाई जोड

नेकपा (एमाले) ले अधिकांश क्षेत्रमा अनुभवी र ५० वर्ष माथिका उम्मेदवार अघि सारेको छ। काठमाडौँ–४ मा सचिव डा. राजन भट्टराई, काठमाडौँ–५ मा वरिष्ठ नेता ईश्वर पोखरेल, काठमाडौँ–३ मा रामेश्वर फुयाँललगायत पूर्व सांसद र प्रदेश सभा सदस्यहरू एमालेका उम्मेदवार छन्। एमालेका उम्मेदवारमध्ये धेरैजसोले यसअघि संसदीय वा कार्यकारी अनुभव बटुलेका छन्।

नेकपामा युवामुखी उम्मेदवारी

नेपाली कम्युनिस्ट पार्टीले काठमाडौँमा तुलनात्मक रूपमा युवा उम्मेदवारलाई प्राथमिकता दिएको छ। काठमाडौँ–१ मा मेनुका भण्डारी, काठमाडौँ–२ मा नीतेश पौडेल, काठमाडौँ–४ मा इन्द्रकुमार भुसालजस्ता केन्द्रीय सदस्यहरू उम्मेदवार छन्। सामाजिक अभियान र स्थानीय तहको अनुभव भएका उम्मेदवारलाई नेकपाले अघि सारेको देखिन्छ।

रास्वपामा युवा र महिला मिश्रण

राष्ट्रिय स्वतन्त्र पार्टीले युवा, महिला र अघिल्ला निर्वाचनमा निर्वाचित सांसदलाई मिलाएर उम्मेदवारी दिएको छ। काठमाडौँ–१ मा रञ्जु दर्शना न्यौपाने, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा वर्तमान सांसद शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ उम्मेदवार छन्। काठमाडौँ–९ मा पार्टीका उपसभापति डोलप्रसाद अर्याल उम्मेदवार हुनुहुन्छ।

चर्चित र स्वतन्त्र अनुहारको प्रतिस्पर्धा

यस निर्वाचनमा राजनीतिक दलका उम्मेदवारसँगै सामाजिक र व्यावसायिक क्षेत्रमा परिचित अनुहार पनि प्रतिस्पर्धामा छन्। काठमाडौँ–३ मा मन्त्री पदबाट राजीनामा दिएर कुलमान घिसिङ उम्मेदवार बन्नुभएको छ। काठमाडौँ–५ मा पूर्वउपप्रधानमन्त्री कमल थापा, काठमाडौँ–१ मा रवीन्द्र मिश्र तथा अन्य क्षेत्रमा कलाकार, अभियन्ता र स्वतन्त्र उम्मेदवार पनि चुनावी दौडमा छन्।

नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, श्रम संस्कृति पार्टीलगायत दल तथा स्वतन्त्र गरी काठमाडौँका १० निर्वाचन क्षेत्रमा करिब २५० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *