काठमाडौं । सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनियमितता भएको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा आकस्मिक छापा मारेको छ। मंगलबार दिउँसो आयोगको टोली कार्यालय परिसरमा प्रवेश गर्दै कार्यालय प्रमुखदेखि कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका प्रतिनिधिसम्मको मोबाइल फोन नियन्त्रणमा लिएको हो।
सूचनाअनुसार लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीलाई तोकिएको तीन महिने अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई परीक्षामा सहभागी गराइएको थियो। यही गम्भीर आरोपको आधारमा अख्तियारले कागजात तथा डिजिटल प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
आयोगका अनुसार कार्यालय प्रमुखसहित कर्मचारीहरूले विचौलियाको प्रयोग गरी फेल भएका सेवाग्राही खोज्ने र प्रत्येकबाट पाँच हजारदेखि १० हजार रुपैयाँसम्म असुली गरी नियमविपरीत पुनः परीक्षामा बस्न दिने व्यवस्था मिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
छापाका क्रममा कार्यालय प्रमुख अधिकृत (नवौं तह) पेशल कुमार पोखरेलसहित १७ जना कर्मचारीबाट २५ थान मोबाइल जफत गरिएको छ। त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रसनि डोरहरी नेपालसहित तीन जनाबाट तीन थान मोबाइल तथा नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका मेनेजर बालकृष्ण सिंहसहित सात जनाबाट नौ थान मोबाइल बरामद गरिएको आयोगले जानकारी दिएको छ।
यसबाहेक, तीन महिना नपुग्दै पुनः लिखित परीक्षा दिएका परीक्षार्थीका उत्तरपुस्तिका र सम्बन्धित कागजातहरू पनि नियन्त्रणमा लिइएको छ। अख्तियारले बरामद सामग्रीको डिजिटल र प्राविधिक विश्लेषण गरी संलग्नता पुष्टि भए कानुनी कारबाही अघि बढाइने जनाएको छ। यस घटनाले सवारी चालक अनुमति पत्र प्रक्रियामाथि उठ्दै आएको अनियमितताको आरोपलाई फेरि एकपटक सतहमा ल्याएको छ।




