देश

आचारसंहिता कडाइका साथ पालना गर्दै कांग्रेसको चुनावी अभियान

काठमाडौँ। नेपाली काँग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको प्रचार–प्रसारमा पार्टी एक भएर जुटेको जानकारी दिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले अहिलेसम्म भएका निर्वाचन केन्द्रित कार्यक्रमको जानकारी दिँदै पार्टी एक भएर निर्वाचनमा होमिएको जानकारी दिएका हुन्।

चालिसेका अनुसार कांग्रेसले निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालन गर्ने र प्रतिस्पर्धामा गलत संस्कृतिको विकास नहोस् भन्ने उद्देश्यले आन्तरिक रूपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

विद्रोह गरेका केही नेताले मनोनयन फिर्ता लिइसकेको र बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारलाई विजयी बनाउन आह्वान जारी रहेको पनि प्रवक्ता चालिसेले जानकारी दिए।

साथै कांग्रेसमा पुराना नेताहरू पुनः जोडिन थालेको र नयाँ प्रवेशको लहर पनि चलेको छ। डोल्पाका अन्य पार्टीका उम्मेदवार दिल बहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा प्रवेश गरेका छन्।

विशेष महाधिवेशनपछि गठन भएको नयाँ केन्द्रीय कार्यसमितिले सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनको कार्य व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ। प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका/गाउँपालिका र वडा तहसम्म प्रचार प्रसार तथा परिचालन समिति गठनको काम अन्तिम चरणमा पुगेको प्रवक्ता चालिसेले बताए।

काँग्रेसले पार्टीका नीति, योजना र कार्यक्रमलाई प्राथमिकता दिँदै जनतामा विश्वास र भरोसा कायम गर्ने, व्यक्तिगत जीवनमा प्रवेश नगर्ने र मानव स्वतन्त्रताको सम्मान गर्ने निर्देशन सबै १६५ उम्मेदवार र नेता/कार्यकर्तालाई दिएको छ।

फागुन ७ गते जनकपुरधाममा विशेष सभा आयोजना गरिनेछ भने केन्द्रीय स्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिनेछ। यसैबीच निर्वाचन केन्द्रित समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको प्रवक्ता चालिसेले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *