देश

राष्ट्रियसभा निर्वाचन: बागमतीमा देवकोटा र दंगाल विजयी

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशतर्फका दुई सिटमा गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।

नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रियसभामा स्थान सुरक्षित गरेका हुन् ।

महिला समूहबाट नेपाली कांग्रेसकी गीता देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गर्दै विजय हासिल गरिन् । उनले प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले २ हजार ५२२ मतभार प्राप्त गरिन् । झाले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाइन् । सोही समूहमा उम्मेदवार रहेकी नेमकिपाकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन्, जसमा प्रदेशसभातर्फ ३ र स्थानीय तहतर्फ २ मत थिए ।

प्रदेशसभातर्फका कुल ८९ मतदातामध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तहतर्फका २२९ मतमध्ये २२६ मत सदर र ३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य समूहबाट उम्मेदवार बनेका डा. प्रेमप्रसाद दंगालले ६ हजार २०५ मतभारसहित निर्वाचन जितेका छन् । उनले प्रदेशसभातर्फ ५९ र स्थानीय तहतर्फ १६२ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार प्राप्त गरे । उनले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ६४ मत पाए । नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *