विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपाका खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरेका छन् ।
त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नेकपाकी नमिता नेउपानेले २ हजार २६८ मतभार ल्याएकी छन् ।
कोशी प्रदेशबाट ‘अन्य समूह’ मा कांगेसका नेता सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
कोशीमा पालिकातर्फबाट २५८ र प्रदेशसभातर्फ ८७ मत खसेको थियो । पालिकातर्फ कुल २६७ मत र प्रदेशसभामा ९२ मत रहेको थियो । मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।




