काठमाडौ। गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् ।
काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर उनले त्यहाँ कार्यरत कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताएका हुन् ।
गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म ढंगले अनुगमन गर्न निर्देशन दिए ।
साथै उनले मिथ्या सूचना प्रवाह गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै निर्वाचनलाई दृष्टिगत गरी ब्युरोलाई अझ सक्रिय हुन निर्देशन दिए ।




