जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा अपराह्न २ बजेसम्म ३०० भन्दा बढी मतदाताले मतदान गरेका छन् ।
चार जना राष्ट्रियसभा सदस्य चयनका लागि भइरहेको निर्वाचनमा कुल ११ जना उम्मेदवार मैदानमा छन् । यस निर्वाचनमा मधेस प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ जना मतदाता रहेका छन् ।
राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायत पदाधिकारीहरूले मतदान गरिसकेका छन् ।
आज बिहान ९ बजे सुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।




