देश

सर्लाहीमा चुनावी सरगर्मी,सभापति थापा सर्लाही–४ प्रवेश, अमरेशकुमारसँग भिडन्त

सर्लाही। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ चर्चामा आएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिले शुक्रबार थापालाई पार्टीको प्रधानमन्त्री उम्मेदवार घोषणा गरेसँगै सिङ्गो देशकै ध्यान सो क्षेत्रमा केन्द्रित भएको हो।

सर्लाही–४ भारतसँग जोडिएका अधिकांश गाउँ समेट्ने क्षेत्र हो र कांग्रेसको पुरानो गढ मानिन्छ। यसै क्षेत्रबाट डा. अमरेशकुमार सिंहले लगातार तीन पटक निर्वाचित भइसकेका थिए। २०७९ मा कांग्रेसको संस्थापन पक्षसँग असहमति भएपछि सिंहले टिकट नपाएर स्वतन्त्र उम्मेदवारी लिएर विजयी भएका थिए ।

अब फागुन २१ को निर्वाचनमा कांग्रेस सभापति थापाले सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी सोही पार्टीबाट उम्मेदवार बनेका निवर्तमान सांसद सिंहसँग प्रतिस्पर्धा गर्ने स्थिति बनेको छ।

सर्लाही–४ मा कांग्रेस सभापति थापा, रास्वपाका सिंहसहित नेकपा (एमाले) का अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिश राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, जनमत पार्टीका राकेशकुमार मिश्र लगायत ३९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचनका लागि यस क्षेत्रमा एक लाख २१ हजार १२ मतदाता कायम छन्। ८१ मतदान स्थलमध्ये सबै अति संवेदनशील सूचीमा परेका छन्।

नेपाली कांग्रेस प्रदेश कार्यसमितिका उपसभापति वीरेन्द्रप्रसाद सिंहका अनुसार सभापति थापा सोमबार दिउँसो सर्लाही–४ प्रवेश गरी चार दिन निर्वाचन क्षेत्रमा बस्ने कार्यक्रम छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *