काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि अघि सारेको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कडा प्रतिक्रिया दिएका छन्। ओलीको दाबीलाई चुनौती दिँदै बालेनले विगतका घटनाक्रम स्मरण गराउँदै तीव्र टिप्पणी गरेका हुन्।
अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै आफ्नो पार्टी नेकपा एमाले देश बनाउने पक्षमा रहेको दाबी गरेका थिए। उनले चुनावी मैदानमा रहेका दलका एजेन्डा, विगतमा गरेका काम र आगामी योजनाबारे पारदर्शी बहस आवश्यक रहेको भन्दै आमनेसामने बहसका लागि आफू तयार रहेको बताएका थिए।
ओलीको सोही अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै बालेन शाहले ‘देश जलाउने’ भन्ने शब्दावलीप्रति व्यङ्ग्य गरेका छन्। उनले नेताहरूले विगतमा गरेका हिंसात्मक गतिविधिको जवाफ दिनुपर्ने उल्लेख गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका हुन्।
बालेनले ओलीको पोस्टमा प्रतिक्रिया दिँदै लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते घर जलाएको कुरा तपाईंहरूलाई नै थाहा थियो।”
उनले थप टिप्पणी गर्दै विगतका घटनाको जिम्मेवारी स्वीकार नगरी सार्वजनिक बहसको कुरा गर्नु उपयुक्त नहुने संकेत गरेका छन्।





