देश

काठमाडौंमा बाक्लो हुस्सु, जाडोले जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै हुस्सु र चिसो बढेको मौसमविद्हरूले बताएका छन्।

हुस्सुका कारण दृश्यता घट्दा सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरू पनि कडाको जाडोबाट प्रभावित भएका छन्। दिउँसो केही समय घाम लागे पनि हुस्सु पूर्ण रूपमा नहट्ने सम्भावना रहेको छ, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ। उपत्यकामा बढ्दो प्रदूषण र धुलोका कारण हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरूको भनाइ छ।

यसैबीच, हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुन सक्ने बताइएको छ। तराईका जिल्लाहरूमा भने झन् बाक्लो हुस्सु र कुहिरोले जनजीवन अस्तव्यस्त बनेको छ। दृश्यता अत्यन्त कम भएकाले सडक दुर्घटनाको जोखिम बढेको छ भने केही स्थानमा विद्यालयहरूमा बिदा दिने क्रमसमेत जारी छ।

मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्दै जानेछ। तत्काल वर्षाको सम्भावना नरहेकाले चिसो अझ कडा हुन सक्ने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम विभागले नागरिकहरूलाई न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन तथा सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूलाई चिसोबाट बच्न थप सतर्क रहन सुझाव दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *