देश

उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि पिआरधारीसम्म

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ८१ जनाले फिर्ता लिएका छन्।

निर्वाचन आयोगका अनुसार मुलुकभर तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका थिए। फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि विदेशमा स्थायी आवास अनुमति (पिआर) प्राप्त व्यक्ति पनि छन्।

कतिपयले उम्मेदवारी दिँदा कानुनी ज्ञान नभएको र पछि बुझेर फिर्ता लिएको बताएका छन् भने केहीले प्रतिस्पर्धा गर्न हाल इच्छुक नभएकाले फिर्ता लिएको जानकारी दिएका छन्।

पूर्वप्रधानमन्त्री र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराई पनि फिर्ता लिने उम्मेदवारमध्ये पर्नुहुन्छ। उहाँले गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएको थियो। भट्टराईका अनुसार एक दलबाट मात्र सांसद हुँदा भूमिका सङ्कुचित हुने भएकाले फिर्ता लिएका हुन्।

त्यस्तै, रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार कार्भिका थापाले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उहाँ अमेरिकाको स्थायी आवास अनुमति (पिआर) पाउनुहुन्छ। संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति त्यागेको कम्तीमा तीन महिना भइसकेपछि मात्र उम्मेदवारी दिन पाइन्छ। आफ्नो अध्ययनको सिलसिलामा पिआर लिएको र संवैधानिक व्यवस्था बुझेपछि उहाँले उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार फिर्ता लिने अधिकांश उम्मेदवारले व्यक्तिगत कारण वा हाल उम्मेदवार बन्न इच्छुक नभएको उल्लेख गरेका छन्। फिर्ता लिनेमध्ये अधिकांश पुरुष हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *